हेटौंडा — आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा ३ हजार १५० जना अस्थायी मतदाता रहेका छन् । यो संख्या अझै फेरिन सक्ने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

समानुपातिकतर्फ मतदान गर्नका लागि हालसम्म संकलन गरिएको संख्या अनुसार जिल्लामा उक्त संख्यामा अस्थायी मतदाता रहेको पाइएको हो।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लामा हालसम्म संकलन गरिएको संख्या अनुसार ३ हजार १५० जना अस्थायी मतदाताको नामावली संकलन गरिएको छ । अस्थायी मतदाताको संख्या एकिन १/२ दिन भित्रमा हुने उनले बताए ।

जिल्लामा कार्यरत सुरक्षाकर्मी, निजामति र संस्थान अन्तरगतका कर्मचारी, कारागारमा रहेका कैदीबन्दीको विवरण संकलन गरेर गरिएको छ ।

क्षेत्रीय कारागार भीमफेदीका अधिकांश कैदीबन्दीको नाम मतदाता सूचीमा छैन । कारागारमा झण्डै १ हजार कैदीबन्दी छन् । तीमध्ये ७५ जनाले मात्र सामानुपातिकतर्फ मतदान गर्न पाउने छन् । कारागारमा रहेका २ महिलासहित ७३ पुरुष कैदीबन्दीले मात्र मतदान गर्न पाउने जेलर सुवास पौडेलले बताए। मतदाताको नाम संकलन गर्ने क्रममा कारागारमा निर्वाचन कार्यालयका कर्मचारीहरु नपुगेका कारण उनीहरुको नाम मतदाता सूचीमा समावेश हुन नसकेको हो ।

२०७९ को निर्वाचनमा अस्थायी मतदाताको मतदानस्थल भीमफेदी कारगार र जिल्ला प्रशासन कार्यालयमा राखिएको थियो ।