काठमाडौं । इटहरीमा फागुन ७ गतेका लागि तय भएको ‘कोसी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सरेको छ ।
शुक्रबार आयोजक नयन मिडिया फाउन्डेसनले विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण अवार्ड एक महिनापछि सारिएको जनाएको हो ।
योसँगै कोसी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यो कार्यक्रम अब चैत ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना गरिने भएको छ ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णरूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सारिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
फाउन्डेसनले निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको जनाएको छ ।
अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको आयोजकको भनाइ छ ।
यद्यपि, विज्ञप्तिमा फाउन्डेसनले नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘कोसी एक्सिलेन्स अवार्ड’ कोसी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम हो ।








