सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ ।
आइतबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा, खेलकुद र वन क्षेत्रसँग सम्बन्धित निर्णयहरू गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहका अनुसार बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली, दैलेखको अधुरो भवन निर्माण आयोजनाका लागि विनियोजित ६० लाख रुपैयाँ कार्यान्वयन गर्न इलाका प्रहरी कार्यालय राकम कर्णाली, दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।
त्यस्तै, कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ लाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।








