खोटाङ, माघ २५ गते । खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुना गरी करिब डेढ सय जना बिरामी परेका हुन् ।

माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । उनीहरुमा ज्वरो आउने, पेट दुख्ने, उल्टी हुने, झाडापखाला लाग्ने समस्या देखिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले बताउनुभयो । भोज खाएपछि उनीहरुलाई ‘फुडपोइजन’ भएको आशङ्का गरिएको उहाँको भनाइ छ ।

सुरुमा केही व्यक्तिहरु बिरामी भएको खबर आएपछि स्वास्थ्यकर्मीले घरघरमा गएर उपचार गरेका थिए । तर पछि गाउँका प्रत्येक घरमा मानिसहरु बिरामी भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङ दुई घरमा सबैलाई ल्याएर उपचार गराइएको कार्कीले बताउनुभयो ।

एम्बुलेन्समार्फत बिरामी ल्याउने र सुधार भएपछि घरमै पुर्याउने काम धमाधम भइरहेको छ । हालसम्म करिब ८० जना बिरामीहरु ठीक भइसकेको उहाँको भनाइ छ । अन्य बिरामीलाई स्वास्थ्यकर्मीहरुले उपचार गरिरहेका छन् । केही व्यक्ति भने सिकिस्त रहेका छन् ।

स्लाइनपानी, जीवनजल लगायतका औषधी गाउँपालिकाले व्यवस्थापन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट पनि केही मात्रमा औषधीहरु लगिएको छ । ‘फुडपोइजन’का कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ सङ्कलन गर्न चिकित्सकको टोली आउदै गरेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो ।

बिहे भोज खाएर गएका टाढा टाढाका पाहुनाहरु पनि बिरामी भएको खबर आएको छ । नजिकै रहेका पाहुनालाई सोही ठाउँमा ल्याएर उपचार गराइएको छ । आइतबार बिहान पनि नजिकै रहेका गाउँका पाहुना बिरामी भएको खबर आएपछि बिरामी ल्याउन एम्बुलेन्स पठाइएको कार्कीले बताउनुभयो ।