बैतडीमा ३८७ वटा भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो ।

सोही सूचना बमोजिम अहिलेसम्म ३८७ थान भरुवा बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बल्देव बडुले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक संकलन गरिएको उनले बताए ।

प्रशासनले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने उल्लेख गरेको भए पनि सबै हातहतियार फिर्ता गरिएको छैन । निर्वाचन सुरक्षालाई अवस्थालाई मध्यनजर गर्दै विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचनामार्फत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिए ।

यसअघि तोकिएको मितिसम्म इजाजत प्राप्त हातहतियार नबुझाएपछि माघ मसान्तसम्म म्याद थप गरिएको उनले बताए । ‘बैतडीमा हातहतियारका लागि १ हजार ८६ इजाजत वितरण गरिएको छ,’ सूचना अधिकारी थापाले भन्नुभयो, ‘तिमध्ये चालु आर्थिक वर्षमा ४५२ ले मात्रै इजाजत नवीकरण गराएका छन् ।’

संकलित बन्दुक निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ ।