काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले देशमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको धारणा आम मतदातामा बलियो बन्दै गएको दाबी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवारसमेत रहेका थापाले आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देश राजा बिना चल्न नसक्ने विश्वास धेरै मतदातामा रहेको बताएका छन् ।

उनका अनुसार यो धारणा बुढापाकामा मात्र सीमित नरही युवापुस्तामाझ झनै बलियो रूपमा फैलिँदै गएको छ। ‘हामीले अपेक्षा गरेभन्दा बढी युवाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाइरहेका छन्,’ उनले भने ।

वरिष्ठ नेता थापाले भ्रष्ट नेताहरू र भ्रष्ट पार्टीहरूलाई मतदान नगर्न आम मतदातालाई सचेत गराउन पार्टी पंक्तिलाई आह्वान गरे। उनले जनताको घरदैलोमा पुगेर भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राप्रपालाई मत दिन आग्रह गर्नुपर्ने बताए। ‘देशलाई सही दिशामा लैजान इमानदार नेतृत्व आवश्यक छ,’ थापाले भने, ‘त्यसका लागि जनतासँग प्रत्यक्ष संवाद अपरिहार्य छ।’