भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ ।
मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।
कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता हुनुभएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ ।
मेघालयमासँगै बसेर काम गर्दै आउनुभएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए । विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।
विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज–९ गते मेघालय गएको आफन्तले जनाएका छन् । विष्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारको क्रममा यही माघ२३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए।








