काठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानबारे छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका निम्ति कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल अन्सारीबीच छलफल भएको हो ।

त्यसक्रममा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवर्द्धन, हवाई उडान विस्तार र नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

विशेष गरी नेपाल र कतारबीच सिधा हवाई उडान संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित थियो ।

त्यसक्रममा मन्त्री सिन्हाले पोखरा र गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । यसमा कतार एयरवेजको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

उनले नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका निम्ति सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको जानकारी गराए ।

महासंघका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, लगानी, उड्डयन, होटेल तथा पूर्वाधार क्षेत्रमा विस्तारको सम्भावना भएको बताए । उनले कतारी लगानीकर्ताका निम्ति नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा आकर्षक सम्भावना रहेको उल्लेख गरे ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले नेपालसँग दीर्घकालीन आर्थिक सहकार्यमा आफ्नो देशको निजी क्षेत्रको चासो रहेको बताए । उड्डयन र पर्यटन सहकार्यले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुनेमा उनले विश्वास व्यक्त गरे ।

कतारी प्रतिनिधिमण्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी)को बैठकका निम्ति नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा आइतबार (माघ २५) नेपाल आएको थियो ।