दोलखा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्ना प्रतिस्पर्धीहरू पैसाको ब्रिफकेस बोकेर मतदाता खरिद गर्न हिँडेको बताएका छन् ।
पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचनको समयमा अस्वस्थ्य गतिविधि भइरहेको पाइएको बताए।
उनले भने, ‘निर्वाचनको दौरानमा कालो ब्रिफकेस बोकेर हाम्रा साथीहरूलाई तौलन हिँडिरहेको पाइएको छ। काठमाडौंका बन्द कोठा र होटेलहरूमा आर्थिक चलखेल भइरहेको सूचना आएको छ। यस्ता गतिविधि जहाँ देख्नुहुन्छ, त्यहाँ धावा बोले हुन्छ। जनताको मत खरिद बिक्रीको वस्तु होइन।’
उनले यदि कसैले जबर्जस्ती पैसा दिएमा ‘खाइदिए पनि मत नहाल्न’ मतदातालाई आग्रह गरे । लामो समय जनप्रतिनिधि भएर पनि काम नगर्ने र चुनावका बेला पैसाको आडमा मतदातालाई खेताला सम्झिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘हामीलाई संसद्मा गएर हाई गरेर बस्ने वा तलब भत्तामा मात्रै आँखा गाड्ने प्रतिनिधि चाहिएको छैन। जनप्रतिनिधि त जनताको फाइल बोकेर अड्डा–अदालत र मन्त्रालयमा दौडिने हुनुपर्छ। जिल्लाको स्रोत–साधन र खोलानाला झोलामा हालेर बेच्नेहरूबाट अब दोलखा बच्नुपर्छ ।’








