झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन् । उनले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरु नयाँ ठाउँ चहार्दै हिँडेको बताए ।
काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? उहाँको प्रश्न छ । आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताए । झापाको गौरीगञ्जसँगको सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उनले २६, २७, २८, २९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताए ।
३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर ४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताए । उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताए । विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलकाकारण सफल भएको बताए।
उनकाअनुसार कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ । सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको दाबी गरे । यद्यपि वर्तमान आर्थिक अवस्था र पटक–पटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकोमा उनले दुःख व्यक्त गरे ।
अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत गराए । मधेशी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।








