टिराना । अल्बानियामा सरकार विरोधी प्रदर्शन हिंस्रक बनेको छ । राजधानी टिरानामा प्रधानमन्त्री एडी रामाको कार्यालयबाहिर भएको सरकार विरोधी प्रदर्शन मंगलबार राति हिंस्रक बनेको हो । प्रहरीले भीडलाई तितरबितर गर्न पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीतर्फ मोलोटोभ ककटेल र बत्ती फ्याँकेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार संसद् भवन नजिकै पनि झडप भएको थियो । घटनामा कम्तीमा १६ जना घाइते भएर अस्पताल पु‍र्याइएका छन् । घाइते हुनेमा प्रहरी, प्रदर्शनकारी वा दुवै पक्षका मानिस परे–नपरेको विषयमा फरक फरक समाचार आइरहेका छन् । घटनास्थलबाट कम्तीमा १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो प्रदर्शन पछिल्ला महिनाहरूमा हुँदै आएका सरकार विरोधी आन्दोलनको पछिल्लो कडी हो । अभियोजकहरूले उपप्रधान तथा ऊर्जा एवं पूर्वाधार मन्त्री बेलिन्डा बालुकुले सरकारी निर्माण ठेक्कामा हस्तक्षेप गरेको आरोप लगाएपछि गत नोभेम्बरदेखि राजनीतिक असन्तुष्टि चुलिएको छ ।

उनी केही समय निलम्बनमा परेकी थिइन्, तर प्रधानमन्त्री रामाको आग्रहमा पुनः पदमा फर्किइन् । प्रदर्शनकारीहरूले रामासँगै बालुकुको राजीनामा मागिरहेका छन् र संसद्ले बालुकुको कानुनी उन्मुक्ति खारेज गर्नुपर्ने माग राखेका छन् ।

मंगलबारको प्रदर्शनमा १ हजार ३०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो । यो आन्दोलन विपक्षी डेमोक्रेटिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री साली बेरिशाले आह्वान गरेका हुन् । उनले देशमा शान्तिपूर्ण जनविद्रोह सुरु भएको दाबी गरेका छन् । बेरिशा स्वयं पनि विगतमा भ्रष्टाचार आरोपमा तानिएका थिए ।