नेपाली कांग्रेसबाट मोरङ– ६ का उम्मेदवार डा. शेखर कोइरालाले मोरङको बुढीगंगा गाउँपालिकाका ७ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरे ।
उनका अनुसार पिउने पानी, सडक, स्वास्थ्य संस्थालगायतका पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ । ‘अरु समयको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ,’ उनले भने, ‘यदि यहाँ विकास भएको छैन भन्नुहुन्छ भने म त्यसलाई पत्याउँदिनँ ।’
२१ फागुनमा हुने निर्वाचन नजिकिँदै जाँदा कांग्रेसका उम्मेदवारहरू चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातामाझ पुगिरहेका छन् । सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मिणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन बुढीगंगावासीसँग आग्रह गरिन् ।
त्यसैगरी कांग्रेसकी समानुपातिक सांसद उम्मेदवार प्रमिला गच्छदारले जनआन्दोलनपछिको अवस्थामा मुलुकलाई ध्वस्त पार्ने प्रवृत्तिलाई चिन्न आवश्यक रहेको बताइन् । मुलुक निर्माण गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई जिताउन आग्रह गरिन् ।
डा. कोइरालाले चुनावीसभालाई सम्बोधन गर्नुका साथै विभिन्न पेसा–व्यवसायमा आबद्ध नागरिकहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन् । कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसदको सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने उनको भनाइ छ ।
कांग्रेस बुढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीका अनुसार उम्मेदवार कोइरालाले चुनावी कार्यक्रमलाई व्यापक बनाउँदै अभियानलाई थप प्रभावकारी बनाइरहेका छन् ।








