काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भिर चुनौती भएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अख्तियारले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग कानुन उल्लंघन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात भएको बताए ।

बानी, व्यवहार, आचरण र अभ्यासले भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्न भन्ने प्रण गर्न सके भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने आफ्नो विश्वास रहेको उनको भनाइ छ ।

उनले जनताको अपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य सर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण भएको धारणासमेत राखे ।