बलिउडमा ख्याती कमाएका गायक उदित नारायण झा कानुनी विवादमा तानिएका छन् ।

उनीविरुद्ध पहिलो पत्नी रंजना झाले ३० वर्ष पुरानो विषयलाई लिएर मंगलबार उजुरी दिएकी हुन् ।

उदित नारायण, उनकी दोस्रो पत्नी दीपा र उदितकै दाजुभाइ मिलेर अस्पतालमा लगी आफ्नो गर्भाशय निकालेको रंजनाको आरोप छ ।रंजना आफ्ना वकिल करुणाकान्त झाका साथ भारतीय प्रहरी थानामा पुगेर उदित नारायणविरुद्ध उजुरी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उजुरीमा उल्लेख भएअनुसार रंजना र उदित नारायणबिच ७ डिसेम्बर १९८४ मा हिन्दु परम्परा अनुसार विवाह भएको थियो । त्यतिबेला उदित नारायण नेपालस्थित आफ्नो घरमै बस्ने गरेका थिए ।

पछि उनी गायनमा आफ्नो भविष्य खोज्दै भारतको मुम्बई पुगेको र उतै दीपासँग दोस्रो विवाह गरेको आरोपपत्रमा उल्लेख छ । सन् १९९६ मा उदित नारायणले आफ्ना दाजुभाइसँग मिलेर आफूलाई दिल्लीस्थित एउटा अस्पतालमा पुर्‍याएको रंजनाले जिकिर गरेकी छन् । सोही अस्पतालमा आफ्नो गर्भाशय निकालिएको तर त्यसबारे आफूलाई पूर्वजानकारी नगराइएको उनको आरोप छ । त्यतिबेला उदितकी दोस्रो पत्नी दीपा पनि अस्पतालमै रहेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।

सन् २००६ मा आफू मुम्बईस्थित उदितको घरमा पुग्दा उदित र उनकी दोस्रो पत्नीले गालीगलौज गरेर घरबाट निकालेको रंजनाको आरोप छ । त्यसपछि आफू उदितको नेपालस्थित घरमा पुग्दासमेत बस्न नदिएपछि आफू माइतीको शरणमा रहँदै आएको उनले जनाएकी छन् ।

यसअघि पनि रञ्जना झाले सुपौल पारिवारिक अदालतमा वैवाहिक अधिकार पुनर्स्थापनाका लागि मुद्दा दायर गरेकी थिइन् । त्यसपछि फेब्रुअरी २०२५ मा उदित नारायण सुपौलको फ्यामिली कोर्टमा उपस्थित भएका थिए ।

त्यतिबेला उनले रञ्जनासँग सम्झौता गर्न अस्वीकार गर्दै मुद्दा लड्ने बताएका थिए। उनले लिखित जवाफमा भनेका थिए, ‘रञ्जना मबाट पैसा असुल्नका लागि यी सबै गरिरहेकी छन्। अदालतमा उनले सबै झूट कुरा भनिन्। सही कुरा बताइनन्।