काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को टिजर सार्वजनिक भएको छ। सार्वजानिक टिजरमा चलचित्रको सबै मुख्य पात्रलाई समेटिएको छ।
टिजरमा अभिनेत्री खड्कालाई नियमित भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ। टिजरसँगै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। यो चलचित्र आगामी वर्ष अर्थात २०८३ सालको वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
बर्दियाको राजापुरमा छायांकन गरिएको यो चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका छन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार पारेका छन्। म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँले निर्माण गरेको चलचित्रको कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहेका छन्।








