दलित अधिकारसम्बन्धी विधेयक एक महिनाभित्र मन्त्रिपरिषदमा लैजाने तयारी गरिएको छ । राष्ट्रियसभाको बुधबारको प्रश्नोत्तरको कार्यक्रममा सांसद भुवन बहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै अर्थ एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले दलित अधिकारसम्बन्धी विधेयक एक महिनाभित्र मन्त्रिपरिषदमा लैजाने तयारी भईरहेको बताएका हुन् ।
उनले संविधानको धारा ४० बमोजिम दलित समुदायको हक कार्यान्वयन गर्न दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयकको मस्यौदा निर्माण प्रक्रिया तीव्र पारिएको बताए ।
२०८२ साल २८ पुसको मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको उक्त विधेयक आगामी अधिवेशनमा संघीय संसदमा पेस गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
नेपाल कानुन आयोगसँग प्रारम्भिक मौखिक परामर्शपछि औपचारिक पत्राचार गरिएको उनले बताए । मन्त्री खनालले आगामी २१ दिनभित्र मस्यौदा तयारी, सार्वजनिक परामर्श तथा आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र मन्त्रिपरिषद्सम्म पुर्याउने तयारी भईरहेको बताए ।
उनले यो अत्यन्त महत्वपूर्ण विधेयक भएको उल्लेख गर्दै सरकारको कार्यअवधि रहँदै यसलाई निष्कर्षमा पुर्याउने लक्ष्य लिएको सदनलाई जानकारी गराए । उनले भने, ‘यो अत्यन्त महत्वपूर्ण विधयेक भएकाले द्रुत गतिमा तयार गरेर यो सरकारकाे कार्यअवधि रहँदै यसलाई सम्पन्न गर्ने लक्ष्य मैले लिएको छु ।’








