काठमाडौं । नेपाल प्रहरीअन्तर्गतको प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औँ वार्षिकोत्सवका अवसरमा लाइफ टाइम अवार्ड, रनिङ शिल्डसहित विभिन्न पुरस्कार वितरण गरिएको छ ।
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न समारोहका बीच ती पुरस्कार हस्तान्तरण गरिएको हो ।
पूर्वइन्स्पेक्टर ठागाप्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनकी समादेशक एसएसपी तारादेवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्ड सहित प्रशंसा पत्र प्रदान गरियो ।
प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनीय योगदान दिएकाले उक्त शिल्ड प्रदान गरिएको प्रहरी समाचार कक्षले जनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा आईजी कार्कीले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा-२०८२’ को लोकार्पण गरे । उक्त अवसरमा रस्साकस्सी खेलका विजेता तथा उपविजेतालाई पुरस्कार समेत प्रदान गरियो ।
प्रतिष्ठानमा कार्यरत रही उत्कृष्ट कार्य गर्ने इन्स्पेक्टर उमेश गुरूङ श्रेष्ठलाई पुरस्कार तथा खेलकुद गतिविधिमा उल्लेखनीय सहयोग पुर्याउने रूप्से स्पोर्टस म्यानेजमेन्टलाई प्रशंसा पत्र प्रदान गरियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले कार्यक्रममा धन्यवाद ज्ञापन गरे ।








