निर्वाचन आयोगले यही २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । यो निर्णयसँगै नेपाली कांग्रेस, एमाले, रास्वपालगायत दललाई प्रेसर बढेको छ । आयोगले गरेको निर्णयप्रति दलहरूले असहमति जनाएका छन् । तर कानुनको दफा नै किटान गरी घोषणापत्र बुझाउन दबाब दिएपछि दलहरू घोषणापत्र तयार गर्न लागिपरेका छन् ।
आयोगको तीन दिनअघिको निर्णयअनुसार घोषणापत्र बुझाउन निर्देशन दिइएको हो । निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा स्वतन्त्र प्रतिस्पर्धामा लागेका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । आचारसंहिताको धारा ३७ को २ (१) मा घोषापत्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । निर्वाचन आउनु केही दिनअघि उम्मेदवारले घोषणापत्र तयार गरी सोही आधारमा आफ्नो प्रतिबद्धतासहित भोट माग्न जाने व्यवस्था छ । उम्मेदवारले यही फागुन ४ गतेबाट घोषणापत्र लिएर घरदैलो अभियान गर्दै छन् ।
दलहरूले घोषणापत्र तयार गर्न ढिलाइ गरेका कारण उम्मेदवार खाली हात मतदाताको घरमा पुगिरहेका छन् । ठ्ूला दलमध्ये नेपाली कम्युनिस्ट पार्टीलगायत आधा दर्जनले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । निर्वाचन आयोगले फागुन १८ गतेभित्र प्रचारप्रसार गर्ने व्यवस्था मिलाएको छ । सोही अनुसार उम्मेदवारले घोषणापत्र लिएर घरदैलो पुग्ने गरेका छन् । घोषणापत्रमा दल र उम्मेदवारको भिजन, मिसन र गोल समेटिएको हुन्छ । घोषणापत्रका आधारमा प्रत्येक उम्मेदवारले प्रतिबद्धतापत्र तयार गर्नेछन् । घोषणापत्र र प्रतिबद्धतापत्रमा उल्लेख भएका विषयकै आधारमा विजयी भएका उम्मेदवारले योजना बनाउनेछन् । सोही योजना कार्यान्वयन हुनेछ ।
दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगबाट निर्देशन भएको छ । घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । कुनै पनि दल र स्वतन्त्र उम्मेदवारले व्यवस्थित रूपमा चुनाव प्रचार गर्न आयोगले घोषणापत्र तयार गर्न लगाएको हो । घोषणापत्र तयार गर्न नभ्याएका एमाले र नेपाली कांग्रेसलगायत केही दलले आयोगले तोकेको समयमा घोषणापत्र तयार गर्नुपर्ने बाध्यकारी व्यवस्था नभएको जिकिर गरेका छन् । तर आयोगले आचारसंहितामा उल्लेख भएको विषय कडाइका साथ लागू गर्ने जनाएको छ ।
आयोगले ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएपछि घोषणापत्र तयार नगरेका दल तयारीमा जुटेका छन् । उनीहरूले पर्सि फागुन ३ गतेभित्र घोषणापत्र तयारी गरी सार्वजनिक गर्ने भएका छन् । आयोगले घोषणापत्र सार्वजनिक गर्न बाध्य बनाएसँगै उम्मेदवार खुशी भएका छन् ।
ठूला नेताले आफूखुशी चुनावी प्रचार गर्ने तर उम्मेदवारले के लिएर मतदाताको घरमा जाने भन्ने विषयमा अन्योलता थियो । निर्वाचन आयोगले तत्काल घोषणापत्र तयार गरी सार्वजनिक गर्न निर्देशन दिएपछि उम्मेदवारलाई सजिलो हुने भएको छ । कतिपय दलहरू घोषणापत्र लेखनको तयारीमा लागेका छन् । अब यो र त्यो बहानामा समय खेर नफाली तोकिएको समयभित्रै निर्वाचन घोषणापत्र सार्वजनिक गरियोस् ।






