विराटनगर : कोशी प्रदेशमा सवारी दुर्घटनाको ग्राफ लगातार उकालो लाग्दै जाँदा सडक सुरक्षा गम्भीर संकटका रूपमा देखिएको छ। दुर्घटनाका पछिल्ला विवरणले कोशीका सडक असुरक्षित बन्दै गएको प्रष्ट हुन्छ।

माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना हुँदा ५४ जनाको मृत्यु भएको छ। पछिल्लो १ महिनामा ८ सय ५० सवारीसाधन दुर्घटनामा पर्दा ८ सय ७७ जना घाइते भएका छन्। पछिल्लो ३ महिनाको तथ्यांक झन् चिन्ताजनक छ। दुर्घटनामा परेर मंसिरमा ३२, पुसमा ३७ र माघमा ५४ जनाको मृत्यु भएको हो। ३ महिनामै १ सय २३ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार अधिकांश दुर्घटनाको मूल कारण चालकको लापरबाही हो। ट्राफिक प्रहरीको विश्लेषणले माघ महिनाका कुल दुर्घटनामध्ये ४ सय ३७ वटा अर्थात् ७५.५५ प्रतिशत दुर्घटना चालककै कारण भएको देखाउँछ। तीव्र गति, जथाभावी ओभरटेक, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक संकेतको बेवास्ता गर्ने र अनुभवहीन चालकका कारण दुर्घटना भयावह रूपमा बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ।

डीएसपी श्रेष्ठका अनुसार चालकको लापरबाहीबाहेक यान्त्रिक गडबडी, ब्रेक फेल, ओभरलोड तथा टायर पन्चरका कारण ३५ वटा दुर्घटना भएका छन्। यात्रुको असावधानीले ६२, सडकको खराब अवस्थाले ३९, मौसम र चौपायाका कारण तीन–तीन वटा दुर्घटना भएको तथ्यांक छ। यसले सडक पूर्वाधार र सवारीको प्राविधिक अवस्थासमेत जोखिमयुक्त रहेको संकेत गर्छ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीका अनुसार माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ८ सय ४१ सवारीसाधनलाई कारबाही गरिएको छ। कारबाही गरेर जरिबाना तिराउँदै ७९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। साथै १ हजार ४ सय ५१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २८ हजार ७ सय ९७ जनालाई प्रशिक्षण दिइएको उनले बताए।

तर, कारबाही र सचेतना कार्यक्रमका बाबजुद दुर्घटनाको दर कम हुन नसक्नुले समस्या संरचनागत र व्यवहारगत दुवै तहमा देखिएको सरोकारवालाको भनाइ छ। उनीहरुका अनुसार चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइ, सवारीको नियमित प्राविधिक परीक्षण, सार्वजनिक सवारी चालकको स्वास्थ्य परीक्षण र विद्यालय तहदेखि सडक सुरक्षा शिक्षा अनिवार्य नगरेसम्म दुर्घटना न्यूनीकरणमा कठिन हुनेछ।