काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंक र तिनका उच्च पदाधिकारीहरूलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सोमबार (फागुन ४) सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास अवधिमा नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याएको हो ।

यस्तो कारबाहीमा एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । जसमा एनआइसी एसिया बैंकका अध्यक्ष र सीईओलाई नगद जरिबाना लगाइएको छ । यो बैंकले केन्द्रीय बैंकबाट जारी निर्देशनहरू बारम्बार उल्लंघन गरेको र लिखित आदेशको समेत पालना नगरेकोले कारबाही गरेको जनाएको छ ।

“बैंकले नियमविपरीत वित्तीय विवरण प्रकाशन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई जनही दुई/दुई लाख रुपैयाँ नगद जरिबाना गरिएको छ,” केन्द्रीय बैंकले भन्यो ।

यस्तै, ग्लोबल आइएमई बैंकका सीईओलाई सचेत गराइएको छ । उक्त बैंकको स्थलगत निरीक्षणका क्रममा बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनल) कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको पाइएको छ । साथै, बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानो मिति राखी पुनः सिर्जना गर्न सकिने अवस्था रहेको भेटिएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले बताएको छ ।

यससँगै, राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समिति र सीईओलाई सचेत गराएको छ । यो बैंकले विभिन्न चार नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । “जसमा कर्जासँग सम्बन्धित कागजातहरूमा ग्राहकको सहीछाप नगराएको, सुरक्षणले खामेको भन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकृतिका कर्जाहरूमा ब्याजदर अन्तर दुई प्रतिशत विन्दुभन्दा बढी कायम गरेको र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गर्दै त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जाहरू प्रवाह गरी पुरानो कर्जा असुलीमा प्रयोग गरेकोले सचेत गरेको हो,” केन्द्रीय बैंकले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

यी गल्तीहरूका कारण बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।