काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अब पञ्चाङ्ग (पात्रो) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्नु अघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ।
समितिले आज पत्रकार सम्मेलनमा गर्दै अब पञ्चाङ्ग (पात्रो) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्नु अघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था लागू भएको जानकारी गराएको हो ।
समितिको गठन आदेश, २०७७ को दफा ७ र तारिक व्यवस्थापन दिग्दर्शन–२०७९ को परिच्छेद १५ अनुसार, कुनै पनि व्यक्ति, संघ–संस्था वा समुदायले पञ्चाङ्ग, भित्तेपात्रो, गोजी पात्रो, टेबल क्यालेण्डर आदि प्रकाशित गर्नुअघि समितिबाट स्वीकृति लिनै पर्ने व्यस्था छ।
स्वीकृति नलिई प्रकाशन गरिएका पञ्चाङ्ग वा क्यालेण्डरमा चाडपर्व, तिथि, मुहूर्त, सरकारी बिदा जस्ता विषयमा त्रुटि वा असंगति देखिन सक्ने जोखिम रहेकोले समितिको स्वीकृति नलिई प्रकाशित सामग्रीलाई जफत गर्ने, प्रकाशनमा रोक लगाउने र १० हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्ने जनाइएको छ।
स्वीकृति प्राप्त पञ्चाङ्ग वा क्यालेण्डरमा स्वीकृति पत्र र नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।
निरीक्षणको लागि मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालय, गृह मन्त्रालय, समितिका प्रतिनिधि र पञ्चाङ्गकारको प्रतिनिधि रहने समिति गठन गरिएको छ।
वि.सं. २०७९ देखि पञ्चाङ्गका अतिरिक्त भित्तेपात्रोमा पनि स्वीकृति अनिवार्य गरिएको छ।
कार्यकारी निर्देशक लक्ष्मण पन्थी र अध्यक्ष शम्भु प्रसाद ढकालले सबै सरोकारवाला निकाय, स्थानीय तह, प्रशासनिक कार्यालय, शैक्षिक संस्था, उद्यमी, वाणिज्य तथा सहकारी क्षेत्रहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।








