काठमाडौँ।
मुलुकको सार्वजनिक ऋण हरेक वर्ष बढ्दै जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं रुपैयाँ खर्च भइरहेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो ६ महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको दायित्व व्यवस्थापन गर्न ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त विनियोजित बजेटमध्ये हालसम्म ४५ दशमलव ५३ प्रतिशत खर्च भइसकेको मन्त्रालयले जनाएको छ।
सार्वजनिक ऋणको दायित्वमा उच्च खर्च हुँदा विकास निर्माण तथा अन्य प्राथमिकताका क्षेत्रमा बजेट व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।








