काठमाडौं उपत्यकाका विभिन्न युनिटमा कार्यरत तीन जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरूलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई, परिसरकै डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी जनार्दन घिमिरे रहेका छन् ।

काठमाडौं उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रदर्शन, बन्द हड्ताल, मेला पर्व,खेलकुद लगायत विभिन्न आन्दोलनको व्यवस्थापन तथा नियन्त्रणमा उत्कृष्ट कार्य सम्पादन गरेको एसपी भट्टराई र डीएसपी बुढाथोकीलाई पुरस्कृत गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले जानकारी दिए ।

यस्तै, प्रहरी वृत्त सिंहदरबारलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्‍ती एवं पूर्वाधार विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै डीएसपी घिमिरेलाई पुरस्कृत गरिएको हो ।

यस्ता कार्यले अन्य प्रहरी कर्मचारीको समेत मनोबल उच्च कायम राख्न उत्प्रेरणा पुग्ने हुँदा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको एआईजी कार्कीले बताए ।