२१ फागुनको निर्वाचनको लागि नेपाली कांग्रेसले प्रतिज्ञापत्र पारित गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी निर्वाचनको लागि प्रतिज्ञापत्र पारित गरेको हो । पारित प्रतिज्ञापत्र जनकपुरधाममा चुनावी सभामा सभापति गगन थापासहितका नेताले आजै दिउँसो सार्वजनिक गर्ने तयारी कांग्रेसको छ ।

‘सुशासन र समुन्नतिका लागि नेपाली कांग्रेसको प्रतिज्ञापत्र’को नाममा घोषणापत्र सार्वजनिक हुन लागेको हो । प्रतिज्ञापत्रमा जोडिएका एक स्रोतका अनुसार परम्परागत भन्दा फरक ढंगले कांग्रेसले यसपटक आफूलाई प्रस्तुत गर्दै छ ।

‘हामी जनताको मुद्दालाई प्राथमिकता दिएर १० वटा मुद्दामा आधारित भएर प्रतिज्ञापत्र सार्वजनिक गर्दै छौँ । जसमा १० वटा भिजनमा आधारित २० वटा क्षेत्रगत प्राथमिकता हुनेछन् । यस्तोमा हाम्रो सरकार बनेपछि कसरी काम गर्ने भनेर व्याख्या पनि हुनेछ,’ स्रोतले भन्यो, ‘आज सभापतिले जनकपुरमा भिजन १० सार्वजनिक गर्नुहुन्छ । लगत्तै भोलि राष्ट्रियसभा गृहमा सभापतिले प्रतिज्ञापत्रको विषयमा देशविदेशमा रहेका नेपालीसँग जनतासँग अन्तर्क्रिया गर्नुहुनेछ ।’

प्रतिज्ञापत्रको विषयमा सभापतिकै उपस्थितिमा हुने कार्यक्रमबारे प्रचार विभागले आज दिउँसो पत्रकार सम्मेलन गर्दै छ ।घोषणापत्र तयारीमा जुटेका एक नेताका अनुसार सुशासन र समुन्नतिको विषयलाई मुख्य प्राथमिकता दिएर प्रतिज्ञापत्र ल्याउन लागिएको हो ।

‘हामीले यसअघि घोषणापत्र भन्ने गरेको थियौँ । तर यसपटक सुशासन र समुन्नतिलाई मुख्य प्राथमिकता दिँदै प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी भएको छ,’ ती नेताले भने, ‘सुशासनको लागि कसरी कहिले के गर्ने ? कहाँ समस्या छन् मार्गचित्र ल्याउँदै छौँ ।’

नेपालमा अपेक्षित रूपमा किन विकास भएन, कहाँ–कहाँ कमजोरी भए भन्ने कुरा जोडेर ‘प्रोजेक्ट गभर्नेन्स’को रोडम्यापसहित प्रतिज्ञापत्र तयार भएको जानकारी ती नेताले दिए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा रोजागरी जस्ता प्रत्येक विषयमा भएका नीतिगत कानुनी समस्यको कुरा प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।

पछिल्लो जेन–जी विद्रोहले खोजेका परिवर्तनको चाहनालाई ग्रहण गर्दै प्रतिज्ञापत्रले अन्तिम रूप पाएको छ । ‘भदौमा हामीले जेन–जी विद्रोहको ठूलो सन्देश प्राप्त गरेका छौँ । यसैले त्यो मुभमेन्टले खोजेको सन्देश र अपेक्षालाई ग्रहण गर्दै हामीले प्रतिज्ञापत्र बनाएका छौँ । ‘भिजन १०’ का नाममा हामीले बनाउन खोजेको समग्र नेपाल कस्तो हुनेछ भन्ने मार्गचित्र घोषणापत्रमा हुनेछ’, ती नेताले भने ।

शासकीय सुधारको लागि संविधानको संशोधन, नीतिगत संरचनामा सुधार, सार्वजनिक प्रशासनलाई चुस्तता दिने विषय कांग्रेसको प्राथमिकतामा परेका छन् । यसअघिदेखि पार्टीमा उठ्दै आएको दुईपटक मात्रै प्रधानमन्त्री बन्नेसहितका विषय पनि प्रतिज्ञापत्रमा समावेश भएका छन् । नेपाली स्रोतले धान्न सक्नेगरी सडक, जलविद्युत् आयोजनाका विषयमा पनि प्राथमिकतापूर्वक योजनाको घोषणा प्रतिज्ञापत्रमा हुँदै छ ।