काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२÷८३ को माघ महिनामा मात्रै १ अर्ब ४ करोड रुपैयाँ बराबर प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार माघमा ४९ वटा उद्योगमा उक्त लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार स्वचालित (अटोमेटिक) मार्गबाट ३७ उद्योगमा ४४ करोड ९ लाख ५० हजार रुपैयाँ र अप्रुभल रुटमार्फत १२ उद्योगमा ६० करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यससँगै चालु आवको साउनदेखि माघसम्म ५२४ उद्योगमा कुल ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ अर्ब रुपैयाँले बढी हो । गत आवको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो ।

यस अवधिमा ८ ठूला, ८ मझौला र ५०७ साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । माघमा मात्र एक ठूलो र बाँकी साना उद्योग दर्ता भएका छन् । सरकारले चालु आवदेखि अटोमेटिक रुटमा लगानीको माथिल्लो सीमा हटाउँदै सहजीकरण गरेपछि लगानी आकर्षणमा सकारात्मक प्रभाव देखिएको छ। सात महिनाको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।

माघसम्म कुल ५२५ उद्योग दर्ता भएका छन्, जसमध्ये ३५१ अटोमेटिक रुट र १७३ अप्रुभल रुटमार्फत दर्ता भएका हुन् । उद्योग संख्याका आधारमा सबैभन्दा धेरै सूचना प्रविधिसम्बन्धी २८८ उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रका १५०, उत्पादनमूलक ३५, सेवामूलक ३४, कृषि १४, खनिज २ र ऊर्जा क्षेत्रमा १ उद्योग दर्ता भएका छन् । रकमका आधारमा भने कृषि क्षेत्र अग्रस्थानमा रहेको छ। कृषिमा २१ अर्ब ९० करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १० अर्ब ८६ करोड, सेवामूलक क्षेत्रमा ३ अर्ब ५४ करोड र उत्पादनमूलक क्षेत्रमा २ अर्ब ४० करोड रुपैयाँ बराबर प्रतिबद्धता आएको छ ।

माघसम्म दर्ता भएका उद्योगले कुल २० हजार ८९६ जनालाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्। माघ महिनामा मात्रै दर्ता भएका उद्योगले ६८७ जनालाई रोजगारी सिर्जना गर्ने बताएका छन् । विभागका अनुसार हालसम्म कुल ७ हजार ७६२ उद्योगमा ६ खर्ब ७६ अर्ब ४८ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आइसकेको छ । यी उद्योगमार्फत ३ लाख ६२ हजार ३८५ जनालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । कृषि उत्पादन, सूचना प्रविधि र पर्यटन क्षेत्र चालु आवमा विदेशी लगानीकर्ताको प्रमुख रोजाइमा परेका क्षेत्रका रूपमा देखिएका छन् ।