भारतमा क्रिकेट खेल भइरहेका बेला मौरीको झुन्डले आक्रमण गर्दा एक अम्पायरको ज्यान गएको छ । उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा बुधवार साँझ अन्डर-१३ क्रिकेट खेल भइरहेकै समयमा मौरीको टोकाइबाट ५२ वर्षीय अम्पायर माणिक गुप्ताको ज्यान गएको हो ।
मौरीको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दैनिक भास्करका अनुसार शुक्लागञ्ज क्षेत्रको सप्री मैदानमा क्रिकेट खेल चलिरहेको थियो । कानपुर क्रिकेट एसोसिएसनसँग आबद्ध अम्पायर माणिक गुप्ता खेल सञ्चालन गरिरहेका थिए । दोस्रो इनिङ्सअन्तर्गत ‘ड्रिंक्स ब्रेक’का क्रममा अचानक मौरीको ठूलो झुन्ड मैदानमा प्रवेश गरी खेलाडी र अम्पायरमाथि हमला गरेको थियो ।
मौरीको आक्रमणबाट जोगिन खेलाडी र अम्पायर मैदानमै पल्टिएका थिए । सामान्यतया मौरीबाट बच्न यही नै गरिन्छ । तर पनि मौरीले निरन्तर डंक हानेपछि मैदानमा भागदौड मच्चिएको थियो । घटनामा १० देखि १२ जना खेलाडी घाइते भएको समाचारमा उल्लेख छ ।
गम्भीर घाइते भएका अम्पायर गुप्तालाई कानपुरस्थित एक निजी नर्सिङ होममा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनको अवस्था नाजुक रहेको बताएपछि प्राथमिक उपचारपछि अन्यत्र रिफर गरिएको थियो । तर उपचारकै क्रममा उनको दुखद निधन भएको हो ।
घाइते सबै खेलाडी खतरामुक्त रहेको बताइएको छ। घटनापछि खेल तुरुन्तै रोकिएको थियो। रिपोर्टहरूका अनुसार, मैदान परिसरमा पहिले नै मौरीको घार थियो, तर त्यसलाई हटाउन कुनै व्यवस्था गरिएको थिएन । खेलाडीहरू, प्रशिक्षकहरू र क्रिकेट संघका अधिकारीहरूले माणिक गुप्ताको मृत्युमा शोक व्यक्त गरेका छन् ।








