काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् ।
बिहीबार कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा उनले भने, “लोकतन्त्र जोगाउने जिम्मा जनताको हो, लोकतन्त्रप्रति हाम्रो विश्वास छ । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छोँ ।”
रास्वपा लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै लामिछानेले शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति दिन सरकारसँग माग गरे । निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरू लागेको उनको भनाइ छ ।
“शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकारले देओस्, रास्वपा लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्छ,” लामिछानेले भने ।
निर्वाचनले निकास दिँदैन भनेको आफूले सुनेको भन्दै उनले चुनावले निकास नदिए के ले दिन्छ भन्दै प्रश्न गरे । आफूहरूले आन्दोलनभन्दा पनि मतमार्फत परिवर्तन चाहेको लामिछानेको भनाइ छ ।
सभापति लामिछानले पछाडि परेको कर्णाल प्रदेशबाट वाचापत्र सार्वजानिक गरेर नयाँ सन्देश दिएको दाबी गरे । अब कुनै क्षेत्र पनि पछाडि नपर्ने उनको भनाइ छ ।








