काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी विद्रोहपछि कुन दल बदलियो भन्दै जेनजीलाई नै प्रश्न गरेका छन् । मोरङ–१ को केराबारीमा चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिलेसम्म निष्कर्ष ननिस्किएको भए जेनजीले यस विषयमा छलफल गर्नुपर्ने बताए ।

“भदौ २३ र २४ गतेको जेनजी विद्रोहले समग्र क्षेत्रमा सम्पूर्ण परिवर्तन माग गरेको थियोे । राजनीतिमा परिवर्तन, सरकारमा परिवर्तन, दलहरूमा, प्रशासनमा अनि समाजमा परिवर्तन,” शर्माले भने, “एउटा निर्णय या एउटा घोषणाबाट सबै क्षेत्रमा परिवर्तन हुन सक्दैन । तर, सुरुवात गर्न सकिन्छ । म जेनजी युवालाई सोध्न चाहन्छु– त्यो सुरुआत कसैले गर्‍यो कि गरेन ?”

उनले जेनजी युवाले आफ्नो घरमा बसेर एक्लै सोचून् या ‘डिस्कर्ड’मा जुटेर संवाद गरून्, परिवर्तनको सुरुआत कहीँबाट भएको छ भने त्यो आशाको सुरुआत भएको बताए ।

शर्माले प्रतिप्रश्न गरे, “त्यो कसले गरेको छ ? कुन दलले नेपाली समाजको एकएक असन्तुष्टिलाई विशेष महाधिवेशनमार्फत पहिचान गरेर निदानको नवीन दृष्टि निर्माण गरेको छ ? कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ ? कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि आएको छ ?”

उनले जेनजीले चाहेको परिवर्तन भावना भएको बताए ।