प्रधानमन्त्री शुसीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन् । लुम्बिनी आएकी प्रधानमन्त्री कार्कीले शुरूमा लुम्बिनीस्थित भारत सरकारको सहयोगमा बनेको संग्रहालय अवलोकन गरेकी हुन् ।
त्यसपछि ५ हजार जना क्षमताको सभाहल र थाई बिहार पनि अवलोकन गरिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र छोटो पूजा गरिन् ।
लुम्बिनी आगमनका क्रममा प्रधानमन्त्री कार्कीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दिपक श्रेष्ठ, कोषका कार्यकारी सदस्य श्याम रोक्का,विश्व पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतले औपचारिकरूपमा स्वागत गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले बुद्ध जन्मस्थल लुम्बिनीको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् ।
प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताइन् । उनले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाहरूबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन् ।
लुम्बिनी विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री समक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीहरूबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिएकी थिइन् ।








