दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देश दौडाहापछि शनिबार (फागुन ९) पुनः झापा फर्किएका छन् । झापा फर्किएलगत्तै उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेटघाट (घरदैलो) थालेका छन् ।

रास्वपाले हालै सुदूरपश्चिम र कर्णाली प्रदेशमा आयोजना गरेको ‘परिवर्तन उद्घोषसभा’मा उनी सहभागी भएका थिए । त्यसपछि ‘स्वास्थ्यमा समस्या’ देखिएकाले उनी सुर्खेतबाट काठमाडौं फर्किएका थिए ।

हाल स्वास्थ्यमा सुधार आएको र अब फेरि उनी पूर्ण रूपमा सक्रिय भएका बालेनको सचिवालयले जनाएको छ ।

उनको चुनावी गतिविधि विशेष गरी झापा–५ अन्तर्गत कमल गाउँपालिकामा केन्द्रित छ ।

सचिवालयका अनुसार, बालेन अब केही दिन झापामै रहनेछन् । उनले मतदातासँग प्रत्यक्ष संवाद गर्ने रास्वपा केन्द्रीय सदस्य विरोध सुवेदीले जानकारी दिए ।

झापा–५ का अर्का उमेदवार एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि शनिबारै झापा (दमक) आएका छन् । यहाँ उनले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट र छलफल गरेका छन् ।