काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं। ४ का उम्मेदवार सचिन तिमल्सिनाले निर्वाचनका क्रममा देखिएको निषेध र उत्तेजनाको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
दाङ र मधेशलगायतका केही स्थानमा विभिन्न राजनीतिक दलका झण्डा जलाउने र दलहरूलाई निषेध गर्ने घटना सार्वजनिक भइरहँदा उनले त्यस्ता कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएका हुन् ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नं। २ मा घरदैलोका क्रममा स्थानीयसँगको साक्षात्कारपछि उनले उक्त धारणा राखेका हुन् । उनले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन सबै पक्षलाई अपिल गरेका छन् ।
‘अस्ति दाङ र मधेशका केही स्थानमा राजनीतिक दलका झण्डा जलाउने र निषेध गर्ने जुन कार्य भए, ती लोकतान्त्रिक मूल्य र हाम्रो सामाजिक मर्यादा विपरित छन्,’ उनले भने, ‘हाम्रो समाज वर्षौँदेखि आपसी मेलमिलाप र सद्भावमा बाँधिएको छ। राजनीतिमा विचारको भिन्नता र प्रतिस्पर्धा स्वभाविक भए तापनि एक–अर्काका आस्था एवं राजनीतिक प्रतीकहरूप्रति अनादर प्रकट गर्नु कदापि स्वीकार्य हुन सक्दैन।’
उनले लोकतन्त्र निषेध र उत्तेजनाले नभई आपसी सम्मान, संयम र संवादले मात्र परिपक्व हुने कुरामा जोड दिए। निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको स्मरण गराउँदै यसलाई शान्तिपूर्ण र मर्यादित उत्सवका रूपमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आग्रह गरेका छन्।








