काठमाण्डौ – सरकारले नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउन उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको हो ।
फागुन १५ गते भित्र आएका निवेदनमाथि छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । प्रवक्ता डा. बुढाथोकीका अनुसार अहिलेसम्म २ सय जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ, जबकि मन्त्रालयको तथ्याङ्कअनुसार प्रदर्शनका क्रममा जम्मा २ हजार ५ सय ९९ जना घाइते भएका छन् ।
सरकारले अतिगम्भीर घाइते र तिनको स्याहार गर्नेलाई मासिक नौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र मध्यम घाइतेलाई मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।








