काठमाडौं । रुसले युक्रेनमा दर्जनौँ ड्रोन, ब्यालिस्टिक तथा क्रुज मिसाइल प्रयोग गरी भीषण आक्रमण गरेको छ । आइतबार युक्रेनी सेना र स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार रुसले मुख्यतया ऊर्जा पूर्वाधारलाई निसाना बनाएको छ, जसमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ ।

रातभर भएका यी आक्रमणहरूले राजधानी किभ र आसपासका क्षेत्र, ब्ल्याक सीको बन्दरगाह सहर ओडेसा तथा मध्य युक्रेनका विभिन्न भागमा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत रुसले संयुक्त रूपमा भीषण आक्रमण गरेको बताएका छन् । उनले यस आक्रमणको मुख्य लक्ष्य ऊर्जा क्षेत्र भए तापनि आवासीय भवन र रेलमार्गमा समेत क्षति पुगेको उल्लेख गरे ।

“मस्कोले कूटनीतिभन्दा बढी लगानी आक्रमणमा गरिरहेको छ,” जेलेन्स्कीले भने । उनका अनुसार, यसै हप्ता मात्र रुसले युक्रेनविरुद्ध १३०० भन्दा बढी ड्रोन, १४०० भन्दा बढी निर्देशित हवाई बम र ९६ वटा मिसाइल प्रहार गरेको छ । यस विषयमा रुसले भने तत्काल कुनै टिप्पणी गरेको छैन ।

ऊर्जा प्रणालीमा दैनिकजसो आक्रमणअमेरिकाले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेको भए पनि प्रगति भने सुस्त छ । रुसले युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनबास क्षेत्रका केही भागहरू खाली गर्नुपर्ने माग गरिरहेको छ, जसलाई किभले अस्वीकार गर्दै आएको छ । फेब्रुअरी १७ र १८ मा जेनेभामा भएको पछिल्लो वार्ताले पनि कुनै ठोस नतिजा निकाल्न सकेन ।

किभ क्षेत्रका गभर्नर मिकोला कालाश्निकले टेलिग्राममार्फत दिएको जानकारीअनुसार त्यहाँ कम्तीमा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । पाँचवटा जिल्लामा दर्जनभन्दा बढी घरहरूमा क्षति पुगेको रिपोर्ट गरिएको छ ।

ओडेसाका गभर्नर ओलेह किपरले रातको समयमा ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणका कारण लागेको आगो निभाइएको बताएका छन् ।

युक्रेनी वायुसेनाका अनुसार, रुसले रातभरको आक्रमणमा ५० वटा मिसाइल र २९७ वटा ड्रोन प्रहार गरेको थियो । युक्रेनी वायु सुरक्षा एकाइले ३३ वटा मिसाइल र २७४ वटा ड्रोन खसालेको वा निष्क्रिय पारेको दाबी गरेको छ ।

“यो आतंकलाई सामान्य रूपमा लिन सकिँदैन र यसलाई रोक्नुपर्छ । जसरी पुच्छरले कुकुरलाई हल्लाउन सक्दैन, त्यसरी नै रुसले विश्वलाई आफ्नो इसारामा नचाउन सक्दैन,” युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहाले सामाजिक सञ्जाल एक्समा लेख्दै अन्तर्राष्ट्रिय समुदायलाई क्रेमलिनविरुद्ध कडा प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

रुसले युक्रेनको ऊर्जा प्रणालीमाथि लगभग दैनिक रूपमा आक्रमण गर्दै आएको छ, जसमा थर्मल पावर प्लान्ट र विद्युतीय सब–स्टेसनहरूलाई विशेष रूपमा निसाना बनाइने गरिएको छ ।

पावर स्टेसन, ऊर्जा प्रसारण प्रणाली र ग्यास क्षेत्रमा गरिने यी आक्रमणहरू फेब्रुअरी २०२२ मा रुसले सुरु गरेको पूर्णस्तरको युक्रेन आक्रमणका महत्त्वपूर्ण अंग हुन् । मस्कोले सर्वसाधारणलाई निसाना बनाएको आरोप अस्वीकार गरे तापनि युक्रेनको नागरिक पूर्वाधारलाई वैध सैन्य लक्ष्य मान्ने गरेको छ । किभले भने यसको उद्देश्य सर्वसाधारणलाई दुःख दिनु र देशको मनोबल तोड्नु रहेको बताउँदै आएको छ ।