काठमाडौं । परमाणु कार्यक्रमलाई लिएर इरान र अमेरिकाबीच बढ्दो तनावलाई ध्यानमा राख्दै भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई इरान छोड्न सल्लाह दिएको छ । साथै, नागरिकहरूलाई आफ्ना यात्रा तथा पहिचानसम्बन्धी कागजातहरू तयार राख्न र दूतावासको सम्पर्कमा रहन भनिएको छ ।

तेहरानस्थित भारतीय दूतावासले २३ फेब्रुअरी २०२६ मा आफ्ना अघिल्ला सल्लाहहरू दोहोर्‍याउँदै, इरानमा रहेका भारतीय नागरिकहरू (विद्यार्थी, तीर्थयात्री, व्यापारी, पर्यटक)लाई बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै व्यावसायिक उडानहरूलगायत उपलब्ध साधनहरूको प्रयोग गरी देश (इरान) छोड्न अपिल गरेको हो ।

भारतीय दूतावासले आफ्नो आधिकारिक एडभाइजरीमा भनेको छ, “५ जनवरीमा भारत सरकारद्वारा जारी एडभाइजरीको निरन्तरतामा र इरानको बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै, इरानमा रहेका भारतीय नागरिकहरूलाई व्यावसायिक उडानहरू सहित उपलब्ध परिवहनका साधनहरू प्रयोग गरी इरान छोड्न सल्लाह दिइन्छ ।”

दूतावासले १४ जनवरी २०२६ को एडभाइजरीअनुसार इरानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, विरोध प्रदर्शनहरूबाट टाढा रहन, दूतावासको सम्पर्कमा रहन र आफ्ना यात्रा तथा पहिचानसम्बन्धी कागजातहरू तयार राख्न पनि अपिल गरेको छ । आवश्यक सहयोगका लागि आपतकालीन हेल्पलाइन नम्बर र दूतावासको सम्पर्क विवरणसमेत उपलब्ध गराइएको छ ।

दूतावासमा दर्ता नगराएका व्यक्तिहरूलाई आधिकारिक लिंकमार्फत दर्ता (रजिस्ट्रेसन) गराउन अनुरोध गरिएको छ । यदि इरानमा इन्टरनेट समस्याका कारण नागरिकहरू आफैँले दर्ता गर्न नसक्ने अवस्थामा भएमा, भारतमा रहेका उनीहरूका परिवारका सदस्यहरूलाई उक्त दर्ता प्रक्रिया पूरा गर्न अपिल गरिएको छ ।

यसका अतिरिक्त, कुनै पनि सहयोगका लागि भारतीय दूतावासले मोबाइल नम्बरसहित विभिन्न आपतकालीन हेल्पलाइन नम्बरहरू जारी गरेको छ । यसबाहेक नागरिकहरूले इमेलमार्फत पनि सम्पर्क गर्न सक्ने जनाइएको छ । दूतावासले सुरक्षालाई मध्यनजर गर्दै नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन र कुनै पनि प्रदर्शनमा सहभागी नहुन जोड दिएको छ । यो एडभाइजरी वर्तमान अनिश्चित अवस्थाका बीच नागरिकहरूको सुरक्षित निकासलाई प्राथमिकता दिँदै जारी गरिएको बताइएको छ ।