काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेड का ग्राहकहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल) मा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।
बैंक र अपोलो हस्पिटलबीच ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो। उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले भर्ना भई गरिने उपचार (इन–पेसियन्ट) अन्तर्गत कोठा शुल्क, रोकथाममुखी स्वास्थ्य परीक्षण प्याकेज तथा सहयोगी व्यक्तिको स्वास्थ्य परीक्षण सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बाह्य बिरामी (आउट–पेसियन्ट) अन्तर्गत गरिने जाँच सेवामा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।
यसका साथै निःशुल्क दर्ता शुल्क, अन्तर्राष्ट्रिय बिरामी विश्राम कक्षमा पहुँच लगायतका अतिरिक्त सुविधा पनि उपलब्ध हुनेछन्। काठमाडौंस्थित अपोलो सूचना केन्द्रमार्फत समय लिएर उपचारका लागि जाने ग्राहकहरूलाई नयाँ दिल्ली विमानस्थलबाट होटल वा हस्पिटलसम्म यातायात सुविधा समेत प्रदान गरिनेछ।
उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। यस सहकार्यले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत पुग्ने बैंकले विश्वास लिएको जनाएको छ।





