काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे।

सीबीएस न्युजका अनुसार ट्रम्पले भने, ‘अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेका छौं।’

गत जनवरीमा अमेरिकाले भेनेजुएलाविरुद्ध ‘ठूलो स्तरको’ सैन्य कारबाही गरेको थियो, जसक्रममा त्यहाँका नेता निकोलस मादुरोलाई पक्राउ गरिएको थियो। मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्क लगिएको थियो, जहाँ उनीहरूमाथि नार्को-आतंकवादको षड्यन्त्रसम्बन्धी आरोप लगाइएको थियो।

सीबीएस न्युजका अनुसार उक्त सैन्य कारबाहीपछि ट्रम्पले भेनेजुएलाको जिम्मेवारी अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने र त्यहाँको तेल उत्पादन विस्तारका लागि काम गर्ने बताएका थिए।