नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल (गौतम)ले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताएकी छिन् । नेपाली कांग्रेस कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
उक्त सभालाई सम्बोधन गर्दै उपसभापति भुषालले कर्णाली क्षेत्रका १२ क्षेत्रका उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह समेत गरेकी छिन् । उपसभापति भुषालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार रहेको दाबी समेत गरिन् ।
कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उनले पार्टीले घोषणा गरेका प्रधानमन्त्री हुनका लागि कर्णालीका सबै क्षेत्रबाट चुनाव जिताउनुपर्ने बताइन्। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउने उनले बताइन् ।
उनले कर्णालीका नागरिकले आफ्नो मतदातबाट नेपाली कांग्रेसलाई रूखमा मतदान गरेर कांग्रेसलाई जिताएर देशको विकासमा साथ दिन आग्रह गरिन् । नेपाली कांग्रेस किसान, महिला, बालबालिका, युवाको केन्द्रविन्दु् बन्न खोजेको भन्दै उनले नागरिकलाई मतबाट अनुमोदन गराउन आग्रह गरेकी छिन् ।








