काठमाडौँ । एप्पलको फाइल शेयरिङ फिचर ‘एयरड्रप’ सबै एन्ड्रोइड डिभाइसमा उपलब्ध हुने भएको छ । गुगलले हालै अन्य एन्ड्रोइड स्मार्टफोनबाट पनि एप्पलका डिभाइसमा फाइल पठाउन मिल्ने गरी यो सुविधा विस्तार गर्न लागेको पुष्टि गरेको हो ।

गत वर्ष गुगल र एप्पलले दुई अपरेटिङ सिस्टमबिचको सपोर्ट ठुलो पर्खाल भत्काउँदै गुगलको ‘क्विक शेयर’ र एप्पलको ‘एयरड्रप’ बीच अन्तरआबद्धता सुरु गरेका थिए । यसले गर्दा गुगलको पिक्सेल फोन र आईफोनबिच सहजै फाइल आदानप्रदान गर्ने नयाँ बाटो खुलेको थियो ।

लामो समयसम्म एन्ड्रोइडले एप्पलको एयरड्रपसँग प्रतिस्पर्धा गर्न सकेको थिएन तर क्विक शेयर र एयरड्रप मिलेर काम गर्ने कुरा धेरैका लागि अकल्पनीय थियो । यो फिचर उपलब्ध गराइसकेपछि अन्य एन्ड्रोइड फोनमा पनि आउने धेरैको अनुमान थियो ।

नोभेम्बर २०२५ मा यो फिचर सार्वजनिक भए पनि एउटा नराम्रो पक्ष के थियो भने यो गुगलको ‘पिक्सेल १०’ सिरिजका फोनमा मात्र सीमित थियो । अन्य एन्ड्रोइड प्रयोगकर्ताले यो सुविधा आफ्नो फोनमा कहिले आउला भनेर पर्खिरहेका थिए ।

अन्ततः गुगलले यो सुविधा समग्र एन्ड्रोइड इकोसिस्टममा ल्याउने जानकारी दिएको छ । हालै एक प्रेस ब्रिफिङमा बोल्दै एन्ड्रोइडका इन्जिनियरिङ उपाध्यक्ष एरिक केले यसै वर्षभित्र अपडेट ल्याउने लक्ष्य रहेको स्पष्ट पारेका छन् ।

“हामीले आईफोन मात्र नभई आइप्याड र म्याकबुकसँग पनि उपयुक्त हुने सिस्टम निर्माण गर्न धेरै समय र ऊर्जा खर्च गरेका छौँ,” उनले भने, “अब अहिले यसलाई बाँकी इकोसिस्टममा विस्तार गर्न हामी हाम्रा साझेदारसँग मिलेर काम गरिरहेका छौँ । तपाईंले छिट्टै केही विशेष घोषणा सुन्न पाउनुहुनेछ ।”

गुगलले यसलाई सबै एन्ड्रोइडमा विस्तार गर्ने योजना बनाएको संकेत सुरुदेखि नै देखिएको थियो । सफ्टवेयरका कोड अनुसन्धानकर्ताले यो फिचरलाई ‘पिक्सेलमा मात्र’ सीमित नराखी गुगल प्ले स्टोरमा छुट्टै एपको रूपमा राखिएको पत्ता लगाएका थिए ।

यसका साथै क्वालकम र नथिङ दुवै कम्पनीले छुट्टाछुट्टै रूपमा आफ्नो हार्डवेयरमा यो फिचर चलाउन काम गरिरहेको बताइसकेका थिए । यसले गर्दा पनि यो फिचर विस्तार हुने कुरा पहिले नै अनुमान गरिएको थियो ।

लामो समयदेखि यो फिचर अन्य एन्ड्रोइडमा ‘आउँछ कि आउँदैन’ भन्ने भन्दा पनि ‘कहिले आउँछ’ भन्ने प्रश्न मुख्य थियो । यद्यपि गुगलले यसको सार्वजनिक हुने निश्चित मिति तोकिसकेको छैन । तर ‘छिट्टै’ आउने सङ्केत भने स्पष्ट रूपमा दिएको छ ।