प्रतिनिधि सभाको आसन्न निर्वाचन अन्तर्गत प्रचारप्रसार तीव्र भएको छ । सोही क्रममा गोरखा–१ का उम्मेदवारले पनि प्रचार अभियानलाई तीव्र तुल्याएका छन् ।

एमालेका रामचन्द्र लामिछाने, नेपाली कांग्रेसका प्रेमकुमार खत्री, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी, राप्रपाका केदारमणि खनाल, नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का विष्णुप्रसाद रिजाल लगायतले आ–आफ्ना एजेन्डा बोकेर चुनाव प्रचार गरिरहेका छन् ।

यता रास्वपाका सुदन गुरुङ भने पार्टीको पक्षमा देखिएको लहरलाई उपभोग गर्दै ‘मौकामा चौका’ हान्ने दाउमा छन् । कुनै खास एजेन्डा अघि नसारे पनि उनी पार्टीको पक्षमा देखिएको लहरका आधारमा मत बटुल्न प्रयासरत देखिन्छन् ।

राजनीतिको अनुभव नभएका गुरुङ उम्मेदवारी मनोनयन दर्ता अघि अचानक रास्वपाबाट टिकट पाउन सफल भएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सन् २०२५ को ऐतिहासिक ‘जेनजी’ युवा आन्दोलनका नायक र भुइँतहका नेताका रूपमा चित्रण गरे पनि गोरखाका मतदातामा उक्त विषयले खासै प्रभाव पारेको देखिँदैन । नेपाली सामाजिक सञ्जाल र स्थानीय फोरमहरूमा उनलाई विदेशी सञ्जालसँग जोडिएका चतुर प्रोपोगान्डाबाज र अवसरवादीका रूपमा कडा आलोचना गरिएको छ । ती आलोचनालाई चिर्न उनले चासो देखाएकासमेत छैनन् ।

जेनजी आन्दोलनपछि गुरुङले आन्दोलनको व्यवस्थापनमा आफ्नो मुख्य भूमिका रहेको भन्दै यसलाई सफल जनविद्रोहको रूपमा दाबी गरेका थिए । आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन देखाएका गुरुङको व्यवहार पछि एकाएक फेरियो । रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा उनका समर्थकले पत्रकारमाथि आक्रमण गर्नुका साथै उनले थप आन्दोलनको धम्की दिए ।

आफूमाथि हत्याको षड्यन्त्र भएको दाबी गर्ने, जलेको शीतल निवासको भ्रमण गर्ने र गृहमन्त्रीको राजीनामा माग्नेजस्ता कदम चालेर उनले आफ्नो चर्चा बढाइरहे । राज्य सञ्चालनका कतिपय विषयमा उनले हस्तक्षेप गरेको भनेर विरोध पनि भयो । जेनजी आन्दोलनमा सक्रिय सहभागी कतिपय युवाले उनको भूमिकालाई लिएर प्रश्न उठाए ।

आलोचना बढ्दै गएपछि सुदनले आफ्नो संस्था ‘हामी नेपाल’लाई विशुद्ध मानवीय कार्यमा केन्द्रित गरेको बताएर आन्दोलनको सम्पूर्ण जिम्मा लिनबाट पछि हटे । उनले केपी शर्मा ओली लगायतका नेताविरुद्ध ज्यान मारेको उजुरी दिए भने एमालेले पनि उनीमाथि हिंसा भड्काएको भन्दै काउन्टर उजुरी दियो ।

यस अवधिमा गुरुङमाथि विदेशी शक्ति, विशेषगरी अमेरिकी दूतावास र तिब्बत समर्थक ‘टीओबी’ समूहसँग साँठगाँठ रहेको गम्भीर आरोप लाग्यो । अमेरिकी सहयोग प्राप्त ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत’लाई आफ्नो संस्थाको साझेदार बनाएको विषय र आन्दोलनका बेला अमेरिकी दूतावासका कर्मचारीसँगको गोप्य समन्वयले उनीमाथि भूराजनीतिक चलखेलको आरोपलाई बल पु‍¥यायो ।

गुरुङले यी आरोपहरूलाई राज्य समर्थित ‘साइबर सेना’ले फैलाएको भ्रम भन्दै खण्डन गरे पनि शंका निवारण हुन सकेन । साथै, आफ्ना समर्थक जोडिएका जलविद्युत परियोजनाका भ्रष्टाचारमा मौन बस्ने र संस्थाको आर्थिक पारदर्शिता नदेखाएको भन्दै उनको थप आलोचना भयो ।

मतदानमा सहभागी हुनु अघि गोरखा–१ का मतदाताले उम्मेदवारहरूको प्रस्ट एजेन्डा, उनीहरूमाथि उठेका विभिन्न प्रश्नको जबाफ खोज्न चासो देखाएका छन् । यद्यपि सुदन गुरुङ भने आफ्ना प्रश्नबाट भाग्ने गरेको मतदाताको गुनासो छ ।

रास्वपाकै पुराना कार्यकर्ता पनि गुरुङमाथि प्रश्न उठेको स्वीकार गर्छन् । मतदाताले गुरुङको विगत, विवादास्पद भूमिकालाई लिएर प्रश्न गरे पनि तिनको जबाफ स्वर्य गुरुङले नै दिन उपयुक्त हुने उनीहरूको तर्क छ । नाम नखुलाउने शर्तमा रास्वपाका एक पुराना कार्यकर्ताले भने, ‘हामीले यहाँ चुनाव, उम्मेदवारीलाई लिएर एक खालको तयारी गरिरहेका थियौँ । एक्कासि माथिबाटै गुरुङलाई उम्मेदवार बनाउने भन्ने कुरा आयो । हामीसँग यसबारे सल्लाह नै गरिएन ।