काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिले निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा थापाले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताए ।

“देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ,” थापाले भने, “आफ्नो बा भए पनि छोड्दैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा-एउटा काण्डको छानबिन गर्छ ।”

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको थापाको भनाइ छ ।

“भविष्यमा त्यस्तो कुनै पनि काण्ड हुन पनि दिन्न । त्यसका लागि संस्था बनाउँछ, कानुन बनाउँछ । यो नेपाली कांग्रेस पार्टीले संकल्प गरेर आएको छ,” थापाले भने ।

मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्षभित्र क्रान्तिकारी रुपान्तरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने उनको भनाइ छ ।

“शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्षभित्र क्रान्तिकारी रुपातरण ल्याउँछ । तर, कसरी ? चावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन । नियम, कानुनभित्र रहेर त्यो काम सकिन्छ,” थापाले भने ।