गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति-सुरक्षाको अवस्था मजबुत बनाइएको भन्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीहरूको टोलीसहित निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गर्न बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे ।
मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए । साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारहरूको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति दिएका थिए । जिल्लाको वस्तुस्थिति बारे जानकारी लिएपछि मन्त्री अर्यालले सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिए ।
स्थलगत अनुगमन तथा निरीक्षणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशव्यापी रूपमा निर्वाचनको माहोल उत्साहजनक रहेको बताउँदै सुरक्षा तयारी सुदृढ बनाइएको जानकारी गराए ।
बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका लुम्बिनी प्रदेश इन्चार्ज, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।








