गुलरिया : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सोमवार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म बर्दिया जिल्लाको भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमन गर्न नपाउने गरी शिल (बन्द) गरिएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन ३ दिन (७२ घण्टा) सीमा बन्द गरिएको छ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा शिलसँगै फागुन २० गते राति १२ बजेदेखि २१ गते राति १२ बजे सम्म २४ घण्टाको लागि जिल्लाभित्र अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु आवागमन बन्द गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

दमकल, एम्बुलेन्स, अस्पताल, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत सेवा, ट्याङ्कर सेवा, शव वाहन, कुटनीतिक नियोगका सवारी साधन र निर्वाचन प्रयोजनका लागि अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सार्वजनिक, निजी, सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाएको उनले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका–२०७८ र प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका–२०८२ मा भएको ब्यवस्था एवं जिल्लास्थित सर्वदलीय सर्वपक्षीय वैठकबाट भएको निर्णय बमोजिम फागुन १४ गते राति १२ बजेदेखि निर्वाचनको दिन राति १२ बजेसम्म ७ दिनका लागि १६८ घण्टा मादक पदार्थ विक्री–वितरण तथा सेवनमा प्रतिबन्ध छ ।’ प्रतिवन्धित समयमा कसैले मादक पदार्थ विक्री–वितरण तथा सेवन नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्बन्धित सबैमा सूचना जारी गरेको उनले प्रष्ट्याए ।

‘निर्वाचनको सबैखाले सुरक्षा गतिविधि चुस्त बनाएका छौं । अलिकति खुला सीमा क्षेत्रबाट अवैध गतिविधि हुनसक्ने सम्भावना हुन्थ्यो । सीमा पूर्ण शिल गरिएपछि सीमाबाट हुने अवाञ्छित गतिविधि रोकिन्छ ।’ उनले चुनावमा भाग नलिएका दलहरुबाट हुनसक्ने केही गतिविधि बाहेक त्यस्तो चुनौती हुने आकलन नगरिएको बताए । सुरक्षाकर्मी २४ सै घण्टा गस्ती, पट्रोलमा तैनाथ रहेको बताउँदै उनले ढुक्क भएर मतदानमा सहभागी हुन उनले आग्रह गरे ।

सूचना विपरित कार्य गरे गराएको पाइए कानून बमोजिम कारवाही हुने उनले बताए । प्रजिअ हमालले थपे, ‘जिल्लास्थित सर्वदलीय, सर्वपक्षीय बैठकको निर्णय अनुसार हिन्दुहरुको होली पर्व निर्वाचनको मौन अवधि फागुन १९ गते पर्ने भएकाले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी राजनीतिक दल, घरपरिवार र आफन्तबीच मनाउन हामीले सबैमा अनुरोध गरेका छौं ।’