वीरगञ्ज : पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् ।

शनिवार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । यादवले १३ हजार ३० मत मात्र प्राप्त गरेका छन् ।

पर्सा–१ मा यसअघि लगातार दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रदीप यादवले २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट र २०७९ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट जित हासिल गरेका थिए । तर यसपालि एमालेको टिकटमा चुनाव लडेका उनले आफ्नो परम्परागत प्रभाव क्षेत्रमा पनि अपेक्षित सफलता हासिल गर्न सकेनन् ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा व्यवसायी अनिल कुमार रुङ्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् । यो उनको संसदीय निर्वाचनमा दोस्रो प्रयास थियो । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी प्रदीप यादवसँगै पराजित भएका थिए ।

रुङ्टापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्दकिशोर प्रसाद श्रीवास्तवले १ हजार २ सय ७२ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २ सय १ मत प्राप्त गरेका छन् ।