प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
गत बिहीबार सम्पन्न निर्वाचनमा ६८ स्वतन्त्रसहित १५४ जना उम्मेदवारको जमानत जफत हुने देखिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।
क्षेत्र नं १ मा निवर्तमान सांसद्सहित २८ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले कम्तीमा ७ हजार ३८५ मत प्राप्त गर्नुपर्ने थियो । तर, यस क्षेत्रमा दुई जना बाहेक अन्य उम्मेदवारले १० प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् ।
यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार निवर्तमान प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्वसांसद प्रमोद साह, नेकपा (एमाले) का उम्मेदवार ईश्वरपुर नगरपालिकाका पूर्वमेयरसमेत मनोजकुमार देवकोटासहित २८ जनाको जमानत जफत भएको हो ।
निवर्तमान सांसद चौधरीले ३ हजार ९९१, पूर्वसांसद साहले ५ हजार ४९८ र पूर्वमेयर देवकोटाले ६ हजार १०१ मत मात्र प्राप्त गरे । १ लाख ३० हजार ८७१ मतमध्ये ६०.५३ प्रतिशत अर्थात ७९ हजार २०७ मत खसेको थियो । त्यसमध्ये ७३ हजार ८४२ मत सदर भएको थियो ।
यस्तै, क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २९ जनाको जमानत जफत भएको छ । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन् ।
जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने ७ हजार २३९ मत प्राप्त गर्नुपर्नेछ । सम्पन्न मतगणनाको परिणाम अनुसार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गर्नुभएको हो ।
सर्लाही– २ मा निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री महेन्द्रराय यादव भने ८ हजार ५२३ मत प्राप्त गरी जमानत जोगाउन सफल भएका छन् । यस क्षेत्रमा १ लाख २५ हजार ३११ मतको ६२.०८ प्रतिशत अर्थात ७७ हजार ७८९ मत खसेको थियो । त्यसमध्ये यहाँ ७२ हजार ३८१ मत सदर र ५ हजार आठ मत बदर भएको छ ।
यस्तै, सर्लाही– ३ मा निकटतम प्रतिस्पर्धी रहनुभएको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठको मात्र जमानत जोगिएको छ । ३४ जनाको उम्मेदवारी परेको यस क्षेत्रमा ३२ जनाको जमानत जफत हुने अवस्था आएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । १९ जना स्वतन्त्रसहित ३२ जनाले सदर मतको १० प्रतिशत प्राप्त गर्न सकेनन् ।
१ लाख ३४ हजार ४१२ मतदाता रहेको यस क्षेत्रमा ८२ हजार १०८ मत खसेको थियो । त्यसमध्ये ७७ हजार ८३८ मत सदर र चार हजार २६८ मत बदर भएको छ । यस क्षेत्रमा जमानत सुरक्षित गर्न कम्तीमा सात हजार ७८४ मत ल्याउनुपर्नेमा पूर्व गृहमन्त्री श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे ।
यहाँ, नेकपा एमालेका उम्मेदवार पूर्व रक्षामन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतको जमानत जफत भएको हो ।
यसैगरी, सर्लाही– ४ मा २३ जना स्वतन्त्रसहित ३५ जना उम्मेदवारको भने जमानत जफत भएको छ । नेपाली कम्युनिस्ट पार्टीका डा रजनिशराय, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका रामेश्वरराय यादवलगायतको जमानत जफत भएको हो ।
यस क्षेत्रमा ३५ जना उम्मेदवारले जमानत जोगाउन आवश्यक ७ हजार ३३७ मतसमेत प्राप्त गर्न सकेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएको यस क्षेत्रमा कुल १ लाख २१ हजार १२ जना मतदातामध्ये ७७ हजार ९३१ जनाले मत खसालेका थिए । त्यसमध्ये ७३ हजार ३६२ मत सदर भएको थियो ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका डा.रजनिशराय, पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका रामेश्वरराय यादवलगायतको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ । उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ ।








