काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा–१ मा आफ्नो उमेदवार निर्वाचित भएको दाबी गरेको छ । केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले प्रमाणपत्र नदिएकोमा आपत्ति जनाइएको छ ।

“निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उमेदवारका प्रतिनिधिहरूको उपस्तिथिमा मतगणनासमेत भएको हो,” विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीका उमेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाण–पत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय हो ।”

कसैको कानुनसम्मत रूपमा उमेदवारी नै खारेज भइसकेको अवस्थामा उमेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाण–पत्र नै वितरण नगर्नु कानुनसम्मत नभएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले धनुषा–१ मा रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेज गरेको थियो । तर, आइतबार अदालतको आदेश नआउँदासम्म परिणाम सार्वजनिक गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

नेकपाका उमेदवार मातृका यादव निर्वाचित भएको दाबी गरिएको छ । त्यहाँ उमेदवारी खारेज गरिए पनि रास्वपाको मत देखिएपछि परिणाम सार्वजनिक गर्न रोकिएको हो ।