नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंह दोस्रो जनआन्दोलनपछि निरन्तर प्रतिनिधिसभा सदस्यको रूपमा देखिँदै छन् । योपटक पनि प्रचण्ड रुकुम पूर्वबाट र सिंह सर्लाही– ४ बाट विजयी भएका छन् ।

प्रचण्ड छैटौँ चुनावमा रुकुम पूर्व पुगेका हुन् । रोल्पाबाट सुरु भएको उनको चुनावी यात्रा काठमाडौं, सिरहा, चितवन, गोरखा हुँदै रुकुम पूर्व पुगेको हो । जनयुद्धको नेतृत्व गर्दै २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि उनी तीनपटक देशको प्रधानमन्त्री बनिसकेका छन् ।

२०६४ सालको संविधानसभा चुनावमा उनी रोल्पा– २ र काठमाडौं– १० बाट विजयी बने । २०७० सालमा काठमाडौं– १० पराजित हुँदा सिरहा– ५ बाट विजयी बने । २०७४ सालमा चितवन– ३ बाट जित निकालेका उनले २०७९ सालमा गोरखा २ बाट जित निकालेका थिए ।

त्यस्तै, अहिले रास्वपाका नेता रहेका सिंहले सर्लाही– ४ बाट जित निकालेका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् । सिंहको संसदीय यात्रा २०६३ मा अन्तरिम संसद्‌बाट सुरु भएको हो । २०७० र २०७४ मा कांग्रेसबाट चुनाव जितेका उनले २०७९ मा भने स्वतन्त्र उठेर चुनाव जिते ।

कांग्रेसमा हुँदा डा. शेखर कोइरालापक्षधर भनेर चिनिने सिंहले २०७९ सालको निर्वाचनमा टिकट पाएका थिएनन् । पार्टीले नागेन्द्र कुमारलाई उठाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह २० हजार १७ मत ल्याएर निर्वाचित भए । नागेन्द्र कुमारले १८ हजार २५३ मत ल्याएका थिए ।