काठमाडौं। राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त १८ सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन आयोगका अनुसार, कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका थिए।
मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भए। बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भए।
लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही, तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्।








