२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५० हजारभन्दा बढी मत पाएर जित्ने उम्मेदवार १२ जना छन्। ती सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हुन्।

यस पटकको चुनावमा सबैभन्दा बढी मत पाउने रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हुन्। काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्न झापा क्षेत्र नम्बर ५ पुगेका उनले ६८ हजार ३४८ मत पाए। राजनीतिक धरातल र संसदीय राजनीतिको अनुभवविना मैदानमा उत्रिएका बालेनले नेपाली राजनीतिका अनुभवी खेलाडी पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उनको गृहजिल्लामै पराजित गरे।

ओलीलाई १८ हजार ७३४ मतमा खुम्च्याउँदै बालेन ४९ हजार ६१४ मतान्तरले विजयी भए। जबकि, २०७९ सालको प्रतिनिधिसभा चुनावमा झापा ५ मै ओलीले ५२ हजार ३१९ मतसहित जितेका थिए। २०४८ देखि ६ पटक सांसद, दुई पटक मन्त्री र चार पटक प्रधानमन्त्री बनेका ओली २३ भदौको जेन-जी आन्दोलनपछि सरकारबाट अपदस्थ भएका थिए।

५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुने सांसद हुन्, रास्वपाकी इन्दिरा राना मगर। पूर्वउपसभामुखसमेत रहेकी उनले झापा २ मा ६० हजार ११० मत पाएर जितिन्। उनले पाएको यो मत बालेनपछि दोस्रो धेरै हो। इन्दिराले पूर्वसभामुख तथा नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरिन्। देवराजले ११ हजार ३६८ मत मात्र पाए। यो उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पाएको मतको आधाभन्दा पनि कम हो। उक्त चुनावमा झापा २ मै २८ हजार ७१६ मत पाएर जितेका उनी प्रतिनिधिसभाका सभामुख बनेका थिए। त्यसबेला रास्वपाबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी इन्दिरा उपसभामुख बनेकी थिइन्।

रास्वपाकी सोविता गौतम दोस्रो पटक सांसद बन्ने क्रममा चितवन २ मा ५९ हजार २७७ मत पाएर निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी भरतपुर महानगरपालिकाकी पूर्वमेयर तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहालले २० हजार ६१५ मत मात्र पाइन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोविताले काठमाडौँ २ मा १५ हजार २२९ मत पाएर जितेकी थिइन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा ५२ हजार २८ मत पाएर भरतपुर महानगरको प्रमुख बनेकी रेणुलाई काठमाडौँबाट गएकी सोविताले यस पटक ३८ हजार ६६२ मतान्तरले पराजित गरिन्।

यस पटकको निर्वाचनमा चौथो धेरै मत पाएका रास्वपाका डा. लेखजंग थापा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारसमेत हुन्। रुपन्देही ३ मा ५८ हजार ८१४ मत पाएका थापाले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले हराए। गुरुङले आठ हजार ४३५ मत मात्र पाए।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ३४ हजार १८९ मत पाएर सांसद बनेका रास्वपाका हरि ढकालले यस पटक चितवन १ मा ५८ हजार २०८ मत पाए। तीन वर्षमा करिब २४ हजार मत बढाएका उनले कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतले पराजित गरे। बुर्लाकोटीले १३ हजार ३३ मत मात्र पाए। २०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका बुर्लाकोटीले जम्मा २० मत पाएका थिए।

सुनसरी २ मा रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मत पाएर सांसद बनेका छन्। उनले यसअघि कोसी प्रदेशसभा सदस्य र कांग्रेस संसदीय दलका नेतासमेत रहेका राजीव कोइरालालाई ४१ हजार २७७ मतान्तरले पराजित गरे। कोइरालाले १६ हजार ७१ मत मात्र पाए।

रुपन्देही २ मा ५६ हजार ५५० मत पाएर संसद् यात्रा तय गरेका रास्वपाका सुलभ खरेलले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पराजित गरे। खरेलले उनलाई ४२ हजार ६७९ मतान्तरले हराए। ६ पटक सांसद र सात पटक मन्त्री बनेका पौडेलले यस निर्वाचनमा १२ हजार ८६१ मत मात्र पाए।

तीन पटक सांसद बनिसकेका कांग्रेस नेता डा. शेखर कोइरालालाई मोरङ ६ मा यस पटक रास्वपाकी रुबिना आचार्यले पराजित गरिन्। आचार्य ५५ हजार ५१३ मत पाएर विजयी भइन् भने कोइरालाले १२ हजार ८५० मत मात्र पाए। यो ४२ हजार ६६३ मतको अन्तर हो। राजनीतिमा लामो अनुभव नभएकी ३१ वर्षीया आचार्य सामाजिक कार्यमा सक्रिय थिइन्।

राजनीतिमा नाम नसुनिएका सुनील लम्साल रुपन्देही १ मा ५४ हजार ८४५ मत पाएर सांसद बने। उनले कांग्रेसका हिराबहादुर खत्रीलाई ४२ हजार ८६३ मतान्तरले हराए। खत्रीले ११ हजार ९८२ मत मात्र पाए।

रास्वपाका सभापति तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने चितवन २ मा ५४ हजार ४०२ मत पाएर निर्वाचित भए। २०७९ सालको चुनावमा सोही क्षेत्रमा ४९ हजार २६४ मत पाएर जितेका थिए। त्यसपछि उनी उपप्रधान तथा गृहमन्त्रीसमेत बने, तर नागरिकतासम्बन्धी विवादमा उनको सांसद पद खारेज भयो। त्यसपछि २०८० सालमा भएको उपनिर्वाचनमा उनले पहिलेभन्दा बढी ५४ हजार १७६ मत पाएर जितेका थिए।

यस पटक लामिछानेले उपनिर्वाचनमा पाएकोभन्दा २२६ मत बढी पाएर कांग्रेसकी मिनाकुमारी खरेललाई ३९ हजार ८३८ मतान्तरले हराए। खरेलले १४ हजार ५६४ मत मात्र पाइन्।

रास्वपाका केन्द्रीय सार्वजनिक मामिला सचिव रहेका बदनकुमार भण्डारी काभ्रेपलान्चोक २ बाट ५३ हजार ३४४ मत पाएर सांसद बने। उनले कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले हराए। कांग्रेसका पुराना नेता आचार्यले १७ हजार ८६८ मत मात्र पाए।

२०७९ सालको चुनावमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २४ हजार ३०५ मत मात्र पाएर पराजित भएका रास्वपाका राजन गौतम यस पटक ५० हजार ९४५ मत पाएर सांसद बनेका छन्। उनले कांग्रेसका पूर्वी नवलपरासी जिल्ला उपसभापति बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरे। कांग्रेसका घिमिरेले १६ हजार २९३ मत मात्र पाए।

राजनीतिक विश्लेषक राजेन्द्र शर्मा रास्वपाका उम्मेदवारहरूलाई मतदाताले वैकल्पिक शक्तिका रूपमा विश्वास गरेर यति धेरै मत दिएको बताउँछन्। भन्छन्, “पहिला ३०/४० हजार मत पाउने गरेका पुराना दलका नेतालाई १२/१४ हजार दिएर भर्खर राजनीतिमा आएकालाई ५० हजारभन्दा धेरै मत दिनुको अर्थ उनीहरूले केही गर्लान् कि भन्ने आशा हो।”

त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक अमृतकुमार श्रेष्ठ यस पटक रास्वपाले आफैँले पनि नसोचेको मत पाएको बताउँछन्। भन्छन्, “रास्वपाले यो मतको सम्मान गरेर काम गर्न सकेन भने मतदाताले नै अर्को पटक सजाय दिन्छन्।”