काठमाडौं । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले आफ्नो टोलीले फाइनल हार्दा पनि आईसीसी पुरुष टी–२० विश्वकप अभियानबाट धेरै सकारात्मक पक्ष प्राप्त गरेको बताएका छन् । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै फाइनल पुगेको न्युजिल्यान्ड अन्तिम खेलमा भने सह–आयोजक भारतसँग नराम्ररी पराजित हुन पुगेको थियो ।
यो दशकमा न्युजिल्यान्ड टी–२० विश्वकपको फाइनलमा हार बेहोरेको यो दोस्रोपटक हो । यसअघि टोली २०२१ को संस्करणको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । गत वर्ष आईसीसी च्याम्पियन्स ट्रफीमा पनि न्युजिल्यान्ड उपविजेतमा सीमित भएको थियो ।
स्यान्टनरका अनुसार, लगातार फाइनलसम्म पुग्नुले टोली ठूलो उपाधि जित्ने दिशामा अघि बढिरहेको संकेत गरेको छ । उनले भनेका छन्, “सेमिफाइनल र फाइनल हार्नु आदर्श त होइन, तर यहाँसम्म पुग्नुले हामीले धेरै राम्रो क्रिकेट खेलिरहेको स्पष्ट गर्छ । फाइनलमा राम्रा टोलीहरूसँग सामना गर्नुपर्छ,” स्यान्टनरले भने ।
उनले फाइनलमा २५० जति ठूलो लक्ष्य पछ्याउँदा पावर प्लेमा विकेट गुमाउनु टोलीका लागि ठूलो समस्या बनेको बताए । “पावर प्ले नै खेलको मुख्य कथा बन्यो । हामी करिब ४० रनमा तीन विकेट गुमाएका थियौँ, जब की भारत बिनाविकेट करिब ९० रनमा पुगेको थियो,” उनले भने ।
समर्थकप्रति आभारस्यान्टनरले प्रतियोगिताभर न्युजिल्यान्डका समर्थकले दिएको साथप्रति धन्यवाद व्यक्त गरे । उनले एक लाख बढी दर्शकसामु खेल्नु विशेष अनुभव भएको बताए । नरेन्द्र मोदी रंगशालामा अधिकांश समर्थक भारतको पक्षमा थियो । “हामीलाई समर्थन गर्ने सबै समर्थकलाई धन्यवाद । आज ट्रफीबिना घर फर्किनुपरे पनि हाम्रो समर्थन असाधारण छन्,” उनले भने, “मैदानमा धेरैजसो निलो जर्सी (भारत)का समर्थक थिए । यति ठूलो भीड अगाडि खेल्नु सधैँ विशेष अनुभव हुन्छ ।”
अर्को लक्ष्य विश्वकपअब न्युजिल्यान्डको ध्यान आगामी आईसीसी मेन्स क्रिकेट विश्वकप २०२७ मा केन्द्रित हुने पनि उनले बताए । एक दिवसीय उक्त प्रतियोगिता दक्षिण अफ्रिका, जिम्बाब्बे र नामिवियाले आयोजना गर्दै छ । त्यसपछि २०२८ मा हुने आईसीसी टी–२० विश्वकपमा केन्द्रित हुनेछ । जुन न्युजिल्यान्ड रअस्ट्रेलियाले मिलेर आयोजना गर्दै छ ।
स्यान्टनरका अनुसार, आफ्नै देशमा विश्वकप जित्नु निकै कठिन हुन्छ । त्यसैले घरेलु समर्थकको ठूलो दबाबबीच उपाधि जितेको भारत प्रशंसाको पात्र भएको उनले बताए । “आफ्नै देशमा विश्वकप जित्नु सबैभन्दा कठिन कुरा हो । भारतले त्यो गरेर देखाएको छ, त्यसैले आज उनीहरूले यो ट्रफी जित्दा गर्व गर्नुपर्छ । हाम्रो उद्देश्य पनि त्यही नै हुनेछ,” स्यान्टनरले भने ।








