काठमाडौँ । झापाको चुनावी नतिजा सार्वजनिक भएपश्चात त्यहाँका स्थानीय बासिन्दालाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र आपत्तिजनक भिडिओ बनाएका रवि चुँडाल विवादमा तानिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चुनाव जितेमा ‘दि*सा खाने’ जस्ता आपत्तिजनक अभिव्यक्ति दिएर चर्चामा आएका उनी यसपटक झापावासीको आत्मसम्मानमै ठेस पुग्ने गरी गालीगलौजमा उत्रिएका हुन् ।
उनले सार्वजनिक गरेको भिडिओमा झापालीलाई ‘चोर’, ‘अपराधी’, ‘दुष्ट’ र ‘देश बेच्ने’ जस्ता अपमानजनक शब्द प्रयोग गरेका छन् । भिडिओमार्फत चुँडालले विशेष गरी दमकका बासिन्दाहरूलाई लक्षित गर्दै विकास धेरै भएर मत परिवर्तन गरेको भन्दै आक्रोश पोखेका छन् ।
उनले भिडिओमा भनेका छन्, “विशेषगरी दमकका खा..हरू, तिमीहरूलाई विकास धेरै भा हो । अब बालेन शाहलाई टर्च खोज्दै हिड अब । बालेन शाहले चुनाव जितेको होइन, त्यो अमेरिकाले जितेको हो । बालेन शाह प्रधानमन्त्री हुने होइन, अमेरिकाको मान्छे हुने हो । तिमीहरू चोर झापालीहरू, तिमीहरू चोर झापालीहरूको त के कुरा गर्नु, म त के भन्छु भने, त्यो बिहार तिरबाट इन्डिया तिरबाट अब मान्छे घुसाइ हाल्नु पर्यो झापामा । तिमीहरू मुर्कुटा झापालीहरू हौ । तिमीहरू झापालीहरूले आफ्ना छोरा छोरी, आफू, आफ्ना श्रीमती सबै बेचि सक्यौ । झापाली चोर हुन्, झापाली अपराधी हुन्, झापाली दुष्ट हुन्, झापाली भनेका यो देश बेच्ने नम्बर वानमा झापाली पर्छन् । तिमीहरू भतुवा हौ ।”
उक्त भिडिओ सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गर्दै यसलाई जनमतको अपमान र नागरिकको अस्मितामाथिको प्रहार भनेका छन् । घृणात्मक अभिव्यक्ति फैलाएको भन्दै धेरै प्रयोगकर्ताले नेपाल प्रहरी र साइबर ब्युरोलाई सामाजिक सञ्जालमा मेन्सन गर्दै चुँडालमाथि तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेका छन् ।
‘नीरज दाहाल’ नामका फेसबुक प्रयोगकर्ताले नेपाल प्रहरीको मेसेन्जरमा उजुरी पठाएको स्क्रिनशट नै सार्वजनिक गरेका छन् । उन लेखेका छन्, “यस भिडिओमा बोलिएका शब्दहरूले आम झापावासीको आत्मसम्मानमा ठेस पुगेको छ । तसर्थ यस व्यक्तिउपर आवश्यक छानबिन र कारबाहीको माग गर्दछु ।” उनले अन्य प्रयोगकर्ताहरूलाई पनि प्रहरीमा उजुरी गर्न आग्रह गरेका छन् भने ‘इराजन बस्नेत’ लगायतका अन्य प्रयोगकर्ताले पनि कारबाहीका लागि प्रहरीलाई मेसेज पठाएको स्क्रिनशट राखेका छन् ।
यद्यपि, सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेपनि आधिकारिक रूपमा भने हालसम्म उजुरी नपरेको बुझिएको छ । साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले उक्त विवादास्पद र घृणात्मक टिप्पणीका बारेमा हालसम्म कुनै औपचारिक उजुरी प्राप्त नभएको जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले भने उक्त भिडिओको बारेमा मौखिक जानकारी आएको बताए । उनले भने, “रवि चुँडाल विरुद्ध यसअघि अन्य विषयमा पनि मुद्दा परेका रहेछन् । अहिले पनि घृणात्मक अभिव्यक्तिका कारण धेरै गुनासो आइरहेका छन् । यो एउटा साइबर अपराध पनि हो । हामी अनुसन्धान गर्दै छौँ ।”








